स्थानीय तह निर्वाचन २०७९ मा पहिलो पार्टी नेपाली कांग्रेस


२६ जेष्ठ २०७९, बिहीबार १८:२६ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ मा पहिलो पार्टी बनेको दाबी गरेको छ ।

कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको अनुगमन‚ मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले वडाध्यक्षको मतका आधारमा कांग्रेस नेपालको पहिलो पार्टी रहेको निष्कर्षसहितको प्रतिवेदन पार्टी सभापति शेर बहादुर देउवालाई बुझाएको जानकारी गराएको हो ।

प्रतिवेदनका बारेमा जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उपसमितिका संयोजक प्रदीप पौडेलले ७५२ स्थानमध्ये प्रमुख पदमा ३२९ स्थानमा कांग्रेसले जित निकाल्दा ४४ प्रतिशतमा विजय दर्ता गराएको बताउनुभयो । कांग्रेसका वडा अध्यक्षका उमेदवारले पाएको मत ३८ लाख ८३ हजार १ सय ३८ रहेको जुन एमालेका वडाअध्यक्षका उमेदवारले पाएको भन्दै १ लाख ७५ हजार ७६ मतले बढि रहेको पौडेलले दावी गर्नुभयो ।

प्रदेशगत आधारमा पनि प्रमुख र उपप्रमुख पदमा कांग्रेस सातवटै प्रदेशमा सवै दलहरुभन्दा अगाडी रहेको उहाले बताउनुभयो । नेता पौडेलले गठबन्धनको औचित्य कुनै राजनीतिक शक्तिलाई निस्तेज पार्ने भन्दा पनि राजनीतिक क्रान्तिमार्फत प्राप्त उपलब्धिको रक्षा गर्दै समुन्नत राष्ट्र निर्माणमा वैचारिक प्रतिस्पर्धा अँगाल्दै रणनीतिक रुपमा साझा संकल्पसहित अघि बढ्नु देखएको बताउनुभयो ।

त्यस्तै उहाले टिकट वितरण बिधानले निर्दिष्ट गरेको समयमा हुनुपर्ने र टिकट दिँदा सकेसम्म स्वच्छ छवि, उर्जाशीलता, घोषणापत्रलाई स्थानीयकरण गर्न सक्ने क्षमता भएका व्यक्तिहरुलाई दिनुपर्ने सुझाव दिएको जानकारी दिनुभयो ।

उपसमितिले भातृसंस्था तथा शुभेच्छुक संस्थाको प्रभावकारी परिचालन गर्नुपर्ने , निर्वाचनको माहोल पार्टीका पक्षमा पार्ना लागि निश्चित कामको सुहाउँदो जिम्मेवारी छुट्टाई सक्रिय बनाउनुपर्ने सुझाव पनि दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here