झापा । कनकाई उद्योग वाणिज्य संघको २०७८ फागुन २० गतेको वार्षिक साधारण सभाबाट निर्माण भएको निर्वाचन समितिले निर्वाचनको कार्यक्रम सम्पन्न नगरी राजीनामा दिएको छ ।
निर्वाचन समितिले संघको कार्यालयमा पत्रकार भेटघाट मार्फत प्रेस विज्ञप्ति सार्वजनिक गर्दै संघको विधानमा रहेको परिच्छेद ८ को दफा ४३ को (ज) बमोजिम निर्णयमा पुगी राजीनामा दिएको जनाएको छ । निर्वाचन समितिका संयोजक प्रेमप्रसाद चुडाल, सदस्यद्वय लिलाप्रसाद भेट्वाल र त्रिलोचन उप्रेतीले संयुक्त रुपमा हस्ताक्षर गरेको प्रेस विज्ञप्ती मार्फत राजीनामा दिएको जनाइएको छ ।
निर्वाचन समितिले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएसँगै कनकाई उद्योग वाणिज्य संघको नेतृत्व अब अन्यौलमा परेको छ । निर्वाचनको कार्य सम्पन्न गर्न कार्यसमितिसँग सहयोग माग गर्दा परिच्छेद ८ को दफा ४३ को (छ) अनुसार निर्वाचन समितिलाई सहयोग प्राप्त नभएका कारण निर्वाचनको प्रक्रिया पूरा हुन नसकेको निर्वाचन समितिले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ । संघको सर्वोच्च अंंगका रुपमा रहेको आम उद्योगी व्यवसायीहरुको विशेष साधारण सभाले अबको छिनोफानो गर्नु पर्ने भएको छ ।
विवाद समाधानकालागि यस अघि संघको निर्वाचन समितिले संस्थाका पुर्वअध्यक्षहरु, वर्तमान अध्यक्ष, सल्लाहकारसहित स्थानीय स्तरमा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग भएको छलफलबाट सुझाव संकलन गरेको थियो ।
प्राप्त सुझावका आधारमा निर्वाचन समितिले आइतवार संघको कार्यालयमा पत्रकार भेटघाट मार्फत प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचन समितिको निर्णयलाई प्रेस विज्ञप्ती मार्फत जानकारी गराउँदै राजीनामा दिएको हो । आफूहरुले निर्वाचन सम्पन्न भए लगत्तै पटक पटक नयाँ कार्यसमितिलाई सपथ र पदस्थापनाका लागि अनुरोध गर्दागर्दै पनि तोकिएको समय सीमा नाघिसकेका कारण विधानतः राजीनामा दिनुपरेको निर्वाचन समितिका संयोजक चुडालले बताउनुभएको छ ।





