झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीले खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेको छ ।
नेपाल आयल निगमले श्रृंखलावद्ध रुपमा यस्ता पदार्थको मूल्यवृद्धि गर्दा पनि देशको प्रमुख प्रतिपक्ष दल एमाले तथा उसका भ्रातृ संगठनहरु मौन बसिरहेका बेला राप्रपाले भने चर्को विरोध गर्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो ।
अनावश्यक कर घटाएर तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न राप्रपाले सरकारसँग मागसमेत गरेको छ । मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रेस विज्ञप्ति जारी गर्दै मूल्यवृद्धिलाई सरकारको हचुवा र अदुरदर्शी कदम भनेका छन् । मूल्यवृद्धिले आम उपभोक्तालाई नराम्रोसँग मार परिरहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘श्रृंखलावद्ध रुपमा पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासमा भइरहेको मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उपभोक्ताको हितविपरित भएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन सरकारसँग राप्रपा माग गर्दछ ।’





