काठमाडौं । मङ्कीपक्सको सङ्क्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
अहिले विश्वमा मङ्कीपक्सको सङ्क्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मङ्कीपक्सको सङ्क्रमणबाट बच्न व्यक्तिगत सरसफाइ र क्वरेण्टीनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताउनु भयो ।
उहाँले विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तीमा दुई हप्ता अनिवार्य क्वरेण्टीनमा बस्ने, सकेसम्म बाहिरी कुनै पनि सामानहरु नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने बताउनु भयो ।
सहप्रवक्ता अधिकारीले मङ्कीपक्सको सङ्क्रमणबाट बच्न सरकारले आवश्यक कदम चालिसकेको छ र सीमा नाकाहरुमा निगरानी बढाएको बताउनु भयो ।
उहाँले विश्व स्वास्थ्य सङ्गठनको केन्द्रिय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा रहेर प्राप्त प्राविधिक सुझावका आधारमा आवश्यक निर्णय गर्दै जाने पनि बताउनु भयो ।





