काठमाडौं । काठमाडौं महानगरपालिकाको एक लाखभन्दा धेरै मत गनिसक्दा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायमै राख्नु भएको छ।
आइतबार बिहानसम्म गणना भएको १ लाख ६ हजार ८५२ मत मध्ये शाहले ३८ हजार ३३३ मत पाउनु भएको छ। यस्तै नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा हुनुहुन्छ। यसअघि एमाले उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा हुनुहुन्थ्यो।
आइतबार बिहानसम्मको मतगणना अनुसार सिर्जनाले २१ हजार २९९ मत पाउनु भएको छ। त्यस्तै तेस्रो स्थानमा झर्नु भएका स्थापितको मत २१ हजार ८ छ।
बालेन र सिर्जनाबीचको मतान्तर १७ हजार ३४ छ भने स्थापितसँग १७ हजार ३२५ छ।
सिर्जना र स्थापितको मतान्तर २९१ मत छ।
अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिसकेको छ।
त्यस्तै अहिले वडा नम्बर ७, ९, १०, ११, १२, २३, २४, २५ र २६ को मतगणना राष्ट्रिय सभा गृहमा जारी छ।
यीमध्ये वडा नम्बर ७, ९, १०, ११ र २६ मा बालेनको अग्रता छ।





