आगामी आर्थिक बर्षको बजेटमाथि छलफल गर्न भोलिदेखि प्रतिनिधि सभाको बैठक बस्दै


२ जेष्ठ २०७९, सोमबार १२:५१ मा प्रकाशित

काठमाडौं । भोलिदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ। भोलिको बैठकबाट बजेटबारे छलफल सुरु हुने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो ४ बजे संसद अधिवेशन आह्वान गर्नु भएको हो। बजेट प्रस्तुत गर्न १३ दिन मात्रै बाँकी छ। स्थानीय तह निर्वाचनका कारण संसदमा बजेट छलफल धेरै हुन भने नपाउने देखिन्छ। वैशाख ३० गते सम्पन्न निर्वाचनको मत परिमाण आइसकेको छैन। निर्वाचनकै कारण ढिलो गरी बजेट अधिवेशन आह्वान भएको थियो।

अर्थ मन्त्रालयले वैशाख २० गते नै विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकताहरु संसदको दुवै सदनमा प्रस्तुत गर्ने योजना बनाएको थियो। तर संसद अधिवेशन आह्वान नहुँदा सदनमा प्रस्तुत हुन सकेको थिएन।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएका कारण बजेट प्रक्रिया छिटो अघि बढ्ने देखिन्छ। चालु आर्थिक वर्षमा पनि संसदीय प्रक्रियाबाट बजेटमा छलफल हुन पाएको थिएन।

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद विघटन भएकै बेला अध्यादेशबाट बजेट ल्याउनु भएको थियो। सो बजेटलाई प्रतिस्थापन विधेयकमार्फत अर्थमन्त्री जनार्दन शर्माले केही परिमार्जन गरी सार्वजनिक गर्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here