जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नजिता घोषणा हुन्छः प्रमुख निर्वाचन आयुक्त


२ जेष्ठ २०७९, सोमबार १३:०४ मा प्रकाशित

काठमाडाैँ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नजिता घोषणा हुने बताउनु भएको छ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वैशाख ३० गते निर्वाचन सम्पन्न सबै स्थानीय तहको मतपरिणाम जेठ ३ गतेभित्र ५० प्रतिशत र ५ गतेभित्र सम्पूर्णको सार्वजनिक गर्न निर्देशन दिएको बताउनु भयो।

मतगणनास्थलमा अत्यधिक जनशक्ति परिचालन गर्ने, सुरक्षा व्यवस्था मिलाउने र त्यसको लागि आवश्यक पर्ने व्यवस्था र वित्तिय खर्च मागअनुसार आयोगले व्यवस्था गर्ने आयुक्त थपलियाले प्रष्ट पार्नु भयो।

थपलियाले मतगणनास्थलमा निजामती कर्मचारी, प्रदेश सरकार वा स्थानीय निकायका कर्मचारीलाई परिचालन गरी यथासक्य धेरै टोली बनाइ मतगणनाकार्यमा वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले आयोगले ७७ जिल्लामा शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न भएको निर्वाचनको घोषणा नागरिकलाई जानकारी दिन सम्पूर्णरूपमा काम गरिरहेको जानकारी दिनुभयो।

मतगणनास्थलमा दलका प्रतिनिधि र गणकबीच मतपत्रका सम्बन्धमा साना, मसिना त्रुटि समाधानमा आयोगले सहजीकरणको भूमिका खेल्नेसमेत आयुक्त थपलियाले उल्लेख गर्नुभयो।

‘मतगणनास्थलमा सुरक्षा संयन्त्र सुदृढ रहेको छ। यस सम्वन्धमा सुरक्षा निकायबाट सुनिश्चिता प्रदान गरिएकोले यसमा कुनै किसिमबाट अल्मलिनु हुँदैन’, उहाँले भन्नुभयो।

वैशाख ३० गते निर्वाचनका क्रममा केही स्थनामा भएको घटनामा सङ्लग्न व्यक्तिलाई छिट्टै नियन्त्रणमा लिई निर्वाचन अपराध तथा कसुर सजाय ऐनअन्तर्गत कार्वाहीको प्रक्रिया प्रारम्भ गर्न सरकारलाई आग्रह गरेको थपलियाले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here