चितवन । चितवनको भरतपुर महानगरपालिकामा भइरहेको मतदानमा चिट वितरणले समस्या देखिएको छ । मतदानको क्रममा मतदातालाई गठबन्धन समूहले चिट वितरण गरेर पठाउन थालेपछि समस्या देखिएको हो ।
भरतपुर महानगरपालिकाका सबै मतदान केन्द्रमा चिट चोरेर मतदान गरिएको छ । भरतपुरका विभिन्न मतदान केन्द्रमा गठबन्धन दलले बनाएको चिट चोरेर असम्बन्धित व्यक्तिले समेत मतदान गरेका पाइएको छ ।
मतदान केन्द्रबाहिर बसेका गठबन्धनका नेता कार्यकर्ताले मतदातालाई जबरजस्ती चिट भिराउने काम गरेका छन् । त्यो चिटमा गठबन्धनका उम्मेदवारको चिह्नमा छाप लगाइएको छ । मतदातालाई चिट वितरणको सवालमा नेकपा माओवादी केन्द्र क्रियाशील, नेपाली कांग्रेस मौन देखिन्छ भने नेकपा एमालेले आपत्ति जनाएको छ ।
महानगरमा स्वतन्त्र उम्मेदवारले मतदातालाई चिट वितरण गरेको विषयमा गम्भीर आपत्ति जनाउँदै निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराउनुभएको छ । मतदान केन्द्रमै नमुना मतपत्र वितरण गरेर गठबन्धनले आचारसंहिताको उल्लङ्घन गरेको बताउनुभयो ।
मतदाता प्रभावित गर्न चिट बाँड्दा पनि प्रहरी प्रशासन मूकदर्शक बनेको छ । कतिपय मतदान केन्द्रमा मतदाताले प्रतिवाद गरेका छन् भने कतिपय मतदान केन्द्रमा होहल्ला समेत भएको छ ।
आफैँ हिँड्न सक्ने र देख्न सक्ने हुँदा पनि सहयोगी राखेर मतदान गर्ने क्रम पनि बढेको छ । गठबन्धनले चिट चोर्न सजिलो हुने गरी आफ्नो दलको चुनाव चिह्न मात्रै राखेर सानो नमुना मतपत्र बनाएको थियो । केही मतदाताको गोजीमा नमुना मतपत्रको चिट फेला परेपछि सुरक्षाकर्मीले गेटमै च्यातेर फालेका थिए । केहीले भने लुकाएर लगेर चिट चोरेर मतदान गरेका छन् ।





