आयोगद्वारा आचारसंहिता उल्लंघन गर्नेमाथि स्पष्टीकरण सोध्ने क्रम जारी


२४ बैशाख २०७९, शनिबार १४:२९ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमाथि स्पष्टीकरण सोध्ने क्रम जारी राखेको छ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले तयार पारेको आचारसंहिता उल्लंघन गर्नेमाथि आयोग कडा निगरानी जारी राखेको छ।

दैनिकरूपमा निर्वाचन बुलेटिनमार्फत विविध सूचना सम्प्रेषण गरी जानकारी र चेतावनी दिँदै आएको आयोगले आफैँ अनुगमनसमेत गरेर स्पष्टीकरण माग्ने तथा आचार संहिताविपरीत भएका गतिविधि नियन्त्रण गर्ने काम गरिरहेको छ।

आयोगले विभिन्न दल, मन्त्री, नेता तथा उम्मेदवारलाई समेत स्पष्टीकरण माग गर्दै आचारसंहिता कार्यान्वयन गर्न आदेश दिइरहेको छ ।

प्राप्त विवरणमा आचारसंहिता उल्लङ्घनका घटना भने ठाउँठाउँमा भइरहेकै छन् ।

आयोगका अनुसार केही दिनअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ को मुक्त कमैया बस्तीमा निरीक्षणका क्रममा जाँदा पीडित परिवारलाई रु पाँच हजार राहत दिने प्रक्रिया अघि बढाएको भनी जानकारी आएपछि स्पष्टीकरण सोधिएको छ।

निर्वाचन आचारसंहिता– २०७८ को परिच्छेद ३ को ५ मा सरकार, मन्त्री स्थानीय कार्यपालिका तथा पदाधिकारीले पालना गर्नुपर्ने आचारणको व्यवस्था छ।

उक्त आचारसंहिताको ५ (क)  मा त्यस्ता पदाधिकारीले कुनै पनि राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here