जनकपुर । विगत केही समयदेखि मधेशी जनता फकाउन केन्द्रित रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनको बाधकको आरोप लगाउनु भएको छ।
दाहालले मधेसी जनताको चाहनाअनुसार संविधान संशेधन गर्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नदिएको आरोप लगाउनु भएको हो।
दोस्रो पटक प्रधानमन्त्री हुँदा दुई पटक संसद् सचिवालयमा संविधान संशोधन र परिमार्जनका लागि प्रस्ताव दर्ता गरेको तर ओलीका कारण छलफलै नभएको उहाँले बताउनु भयो।
‘तपाईँहरूलाई थाहा छ या छैन, मैले दोस्रो चोटी प्रधाननमन्त्रीको भूमिका निर्वाह गर्दैगर्दा दुई पटक संविधान संशोधनको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको थिएँ’, प्रचण्डले धनुषाको मिथिला पुगेर शनिबार भन्नुभयो, ‘ र, त्यो संशोधन र परिमार्जनको प्रस्ताव के कारणले सफल हुन सकेन? तपाईँहरूलाई थाहा छ या छैन। म तपाईंहरूलाई भन्न चाहन्छु, केपी ओलीकै कारणले संविधाने संशोधन हुन सकेन। परिमार्जन हुन सकेन।’
प्रचण्डले मधेस जनताको हक अधिकारको निम्ति र मधेसको विकाससँगै समृद्धि तथा विकासका लागि पाँच दलीय गठबन्धन बनाएको दाबी गर्नुभयो।





