काठमाडौं । बुधबार बिहान ९:४० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक्सचेन्जमा फोन आयो।
त्रिभुवन विमानस्थलमा खटिएका टर्मिनल ड्युटी अफिसरले फोन उठाएपछि उताबाट आवाज आयो, ‘सलाम वालेकुम! तपाईंको डोमेस्टिक टर्मिनल क्षेत्रको सात ठाउँमा बम राखिएको छ। दुई घण्टाभित्र विस्फोट हुन्छ।’
त्यसको केही समयपछि पुनः फोन आयो। यताबाट टर्मिनल ड्युटी अफिसरले प्रश्न गर्न नपाउँदै उताबाट सात ठाउँमा बम राखिएको र दुई घण्टाभित्र विस्फोट हुने कुरा दोहोर्याए।

आन्तरिक उडानतर्फका ड्युटी अफिसरले तत्कालै नागरिक उड्डयन प्राधिकरणको कार्यालयका अधिकारीलाई जानकारी गराए। त्यसपछि तत्कालै सुरक्षा निकायलाई खबर गरियो। बिहान ९:४० देखि ९:५० को बीचमा बम राखेकोबारे सूचना पाएपछि विमानस्थल प्रशासनले एक्सन लियो।
विदेशकै नम्बरबाट आएको फोनमा बोल्ने व्यक्ति भने नेपाली बोलिरहेका थिए। तुरुन्तै विमानस्थल प्रशासन, कार्यरत सुरक्षा निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली परिचालन भयो। विमानस्थलका प्रमुख पूर्ण चुँडालले भन्नुभयो, ‘त्यसरी फोन आएपछि हामी अलर्ट भयौं र सुरक्षाकर्मी परिचालन गर्यौं।’
तर सर्च गर्दा पनि केही नभेटिएपछि बिहान करिब ११ बजेपछि विमानस्थल चालु गरिएको उहाँले बताउनु भयो।
बम डिस्पोजल टोलीद्वारा यात्रु बस्ने क्षेत्र, सुरक्षा जाँच गरिने क्षेत्रमात्र नभएर शौचालयहरूमा समेत सर्च गरिएको थियो।





