भरतपुर । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको छ ।
नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी सभामा सहभागी हुन भरतपुर आउन लागेको भन्दै उजुरी परेको हो ।
गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गर्न लागेको चुनावी सभामा सहभागी हुन देउवा बुधबार चितवन जाँदै हुनुहुन्छ ।देउवाविरुद्ध अधिवक्ता सुनिता अधिकारीले उजुरी दिनु भएको हो।
आचारसंहिताको विषयमा एउटा लिखित उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले पुष्टि गर्नु भएको छ।
यो विषयमा निर्वाचन आयोगलाई जानकारी गराइएको र पत्राचार गर्ने तयारी पनि भइरहेको उहाँले बताउनु भयो ।





