काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले तीनै तहको सरकारमा पुनर्स्थापित हुने बताउनु भएको छ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२२ को अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सम्पूर्ण श्रमिकहरुलाई शुभकामना सन्देश दिँदै ओलीले यस्तो बताउनु भएको हो।
‘संवैधानिक संस्थाहरुलाई असंवैधानिक रुपमा दुरुपयोग गरी नेकपा (एमाले)लाई सरकारबाट हटाइयो। यसले सम्मानित, सुरक्षित श्रम जीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हाम्रा पाइलामा अवरोध पुर्यायो,’उहाँले सन्देशमा भन्नु भएको छ,‘सामाजिक परिवर्तन, आर्थिक विकास र सुनिश्चित श्रम जीवन निर्माणको हाम्रो गन्तव्यमा परमादेशको दुश्प्रयासले अल्पविराम लगाए पनि यसले हाम्रा पाइलाहरुलाई सधैंका लागि रोक्न सक्ने छैन।’
ओलीले आसन्न स्थानीय तहको र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट जनताको बलियो समर्थन सहित नेकपा (एमाले)लाई तीनै तहका सरकारमा पुनर्स्थापना गर्दै राष्ट्रको अभिभारालाई पूरा गर्ने बताउनु भएको छ।





