काठमाडौं । निर्वाचन आयोगले पालिका चुनावमा लागि सात सय ७३ वटै मतगणनास्थलमा अनिवार्य सीसी क्यामेराको प्रवन्ध गर्न लगाएको छ ।
मतगणनालाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सीसी क्यामेराको प्रबन्ध गर्न आयाेगले निर्देशन दिएको हो ।
यस प्रयोजनका लागि आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै पालिकालाई परिपत्र पनि गरिसकेको छ । आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले कुनै–कुनै पालिकामा सीसी क्यामेरा राख्नैपर्ने/नपर्ने भनेर साेधिएकाे उल्लेख गर्दै आयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने र राख्न नचाहनुको अर्थ त्यहाँ कुनै गडबडी गर्न लागिएको त होइन ? भन्ने प्रश्न उत्पन्न भएको बताउनुभयो ।
गएकाे चुनावमा चितवनको भरतपुर महानगरपालिका र केही पालिकामा मतगणनामा विवाद हुँदा केही वडामा फेरि मतदानसमेत भएको थियो । चुनावका लागि १० हजार सात सय ५६ मतदानस्थल र २१ हजार नाै सय ५५ मतदान केन्द्र निर्धारण गरिएको छ ।





