काठमाण्डौ । आउँदो ३० गते हुने पालिका चुनावको लागि भोलि आइतबार र पर्सि सोमबार उम्मेदवारी दर्ता हुँदैछ ।
स्थानीय तह निर्वाचन ऐन अनुसार उम्मेदवारी दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पूरा भएको व्यक्ति जुनसुकै पदमा उम्मेदवार हुन पाउने व्यवस्था छ ।
उम्मेदवार हुन नेपाली नागरिक हुनुपर्छ र सम्बन्धित स्थानीय तह वा सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ ।
सरकारी सेवामा कार्यरत, निर्वाचन कसुरमा संलग्न भएर सजाय भोगेको दुई वर्ष नकाटेको, नैतिक पतन देखिने फौजदारी कसुर वा जन्मकैद हुने सजायमा अन्तिम फैसलाबाट सजाय पाएको व्यक्तिहरू उम्मेदवार हुन पाउँदैनन् ।
सङ्गठित अपराध र जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहको कसुरमा सजाय पाएर निश्चित अवधि पूरा नभएका व्यक्तिहरू पनि उम्मेदवार हुन पाउँदैनन् ।
स्थानीय तहको निर्वाचन कार्यतालिकाअनुसार बैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता,बैशाख १२ गते , मनोनयन पत्रको सुची प्रकाशन,बैशाख १३ गते, उम्मेदवारको विरोधमा उजुरी दिने,बैशाख १४ र १५ गते, मनोनयन पत्र जाँच तथा निर्णय गर्ने,बैशाख १५ गते उम्मेदवारको नामावली प्रकाशन,बैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने,बैशाख १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन ,वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोग ले जनाएको छ ।





