जुम्लाको तिला गाउँपालिकाका–३ कुडारी सार्कीवाडा गाउँमा गएराति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ।
आगलागीबाट मानसिं सार्कीका दुई छोरी, छोरा र भान्जीको मृत्यु भएको हो। सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो।
आगलागीका कारण घाइते भएका मानसिं र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपाचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।
जिल्ला सदरमुकामबाट करिब १८ किलोमिटरको दूरीमा सो गाउँमा आगलागीको कारण खुल्न सकेको छैन।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस





