काठमाण्डौं । काठमाण्डौ महानगरपालिका र उपमहानगरपालिकाकको भागबण्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।
पटक पटक बैठक बस्दै आए पनि सत्तारुढ गठबन्धनले अझै स्थानीय तहको सिट बाडफाडको टुंगो लगाउन सकेका छैनन् ।
आइतबार बसेको गठबन्धनको बैठक पनि सहमति हुन नस्कदा बिना निष्कर्ष सकिएको थियो ।
यही वैशाख ३० गतेको लागि तय भएको स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता हुँदैछ।
मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी हुँदा सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका सहितका स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउन सकेको छैन्।
महानगर, उपमहानगरसहित महत्वपूर्ण स्थानीय तहमा गठबन्धनका सबै दलले आ आफ्नो दाबी नछाड्दा सहमति हुन नसकेको हो।
नेकपा माओवादी केन्द्रले एक महानगर र चार उपमहानगरपालिकामा दाबी गरेको छ।
एकीकृत समाजवादीले एक महानगर र तीन उपमहानगरमा दाबी गरिरहेको छ। जनता समाजवादी पार्टीले पनि एक महानगर र दुई उपमहानगरपालिकामा दाबी गरेको छ तर, काग्रेसले यसमा सहमति नजनाउँदा भागबण्डा टुंगो नलागेको हो। भागबण्डा टुंगो नलाग्दा गठबन्धनका कतिपय दलले गठबन्धनबाटै बाहिरिने चेताबनीसमेत दिन थालेका छन्।
कांग्रेसलाई काठमाण्डौ, ललितपुर र विराटनगर महानरपालिका दिने तयारी छ । यस्तै, भरतपुर महानगरको मेयर माओवादीलाई र उपमेयरसहित सबै २९ वडाका अध्यक्ष उम्मेदवार भने कांग्रेसको हुने गरी सहमतिको प्रयास भइरहेको छ।
पोखरामा मेयर एकीकृत समाजवादीलाई र वीरगञ्जमा मेयर जसपालाई दिनेबारे गठबन्धनमा छलफल भइरहेको छ । काठमाण्डौमा उपमेयर नेकपा एकीकृत समावादी तथा विराटनगरमा उपमेयर जसपालाई दिने तयारी भएको छ।
पोखरा र वीरगञ्जको उपमेयर कांग्रेसले पाउने गरी सहमतिको प्रयास भइरहेको छ। गठबन्धनको कार्यदलले तयार पारेको खाकामा सहमति जुटाउन अहिले छलफल भइरहेको छ ।





