झापा । तराई क्षेत्रमा बसोबास गर्ने राजवंशी,थारु,गनगाई,ताजपुरिया,माझीलगायतका आदिवासी जातिहरूले धुमधामका साथ सिरुवा पर्व मनाउदै छन् ।
नयाँ वर्षसंगै शुरु हुने पर्वका अवसरमा आज झापाका राजवंशीले काद सिरुवा खेल्दैछन् ।
माटोको हिलो बनाएर आपसमा सिरुवा पर्वको शुभकामना आदानप्रदान गर्दै हिलो छ्यापा–छ्याप गरेर ‘काद सिरुवा’ खेल्ने गरिन्छ । माटो बिना जीवन चल्दैन भन्दै राजवंशी जातिले माटोको सम्मान स्वरुप काद सिरुवा खेल्ने उनिहरुको तर्क रहेको छ ।
तराईका आदिवासी समुदायले आफ्नो परम्परामध्ये विशेष पर्वका रुपमा मनाउँदै आएको यो पर्व तीन दिनसम्म मनाउने प्रचलन छ । जसमध्ये पहिलो दिन बैशाख १ गते जल सिरुवा, २ गते काद सिरुवा र ३ गते रंग सिरुवा खेल्ने चलन छ । झापाको घैलाडुबामा राजवंशीहरुले पहिलो दिन अथार्त हिजो बैशाख १ गते पानी खेलेर सिरवा पावनी पर्व मनाएका थिए ।
कनकाई नगरपालिका ४ घैलाडुबामा राजवंशी समुदायले सिरुवा पावनीको अवसरमा आफन्तका बिचमा खुशि साटासाट गरि मनाएका हुन् ।
वैशाखको पहिलो दिन बाङला पात्रो अनुसार अन्तिम चैत्रमा आफू भन्दा सानालाई सिरुवा पर्वमा सुस्वास्थ्यको कामना गर्दै टाउकोमा पानी दिएर,ठूलाबडाहरूका पाउमा भक्ति भावले पानी हालेर र साथी सङ्गी एकआपसमा पानी छ्यापाछ्याप गरी वर्षभरिको लागि शरीरलाई ठन्डा, शीतलता मिलोस् भनी आर्शिवाद लिने र कामना गर्ने चलन छ । यो पर्वमा विभिन्न मिठा मिठा परिकार खादै संस्कृति झल्कने नाचमा रमाउने गरिन्छ ।
छिमेकी मुलुक भारतकाृ आसाम, मेधालय, पश्चिम बगांल कोच बिहारमा पनि सिरुवा पर्व मनाइने गरिन्छ ।
हिजो वैशाख १ गतेबाट बाट थारु, राजवंशी समुदायको महिनाभर चल्ने ग्रामथान मेला पनि सुरु भएको छ । मेलामा ग्राम देवताको पूजा गरेपछि गाउँको रक्षा हुने र मेलामा रमाउनुका साथै बेहुला(बेहुली छान्ने परम्परा रहि आएको सिरुवा पर्वका जानकार स्थानीयबासि प्रदीप भगत बताउछन् ।
यसअघि सिरुवाको पहिलो दिन हिजो राजवंशी समुदायका व्यक्तिले हर्षोल्लाससाथ ‘पानी सिरुवा’ मनाएका थिए । लगातार ३ दिनसम्म मनाइने सिरुवा अन्तर्गत सो समुदायले भोलि रंग सिरुवा खेल्नेछन् । राजवंशी समुदायले सिरुवा पर्वलाई प्रमुख चाडका रुपमा मनाउने गर्दछन् ।
यसैबीच सिरुवा मनाउने झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहामा आज सरकारले सार्वजनिक विदा घोषणा गरेको छ । यस्तै जुडशितल पर्वको अवसरमा प्रदेश २ सरकारले आज मातहतका आठै जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
सबै जातिका मौलिक परम्पराको संरक्षण गर्न सरकार को प्रभावकारी सहभाभिताको साथै मौलिक चाडपर्वलाई मितव्ययी ढंगले मनाउन पाउने वातावरण सृजर्ना हुनु पर्ने मा कसैको दुई मत छैन ।





