काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७९ सालको शुभकामना व्यक्त गरेका छन् । चालू वर्ष २०७८ सालको समिक्षा गर्दै पूर्व राजा ज्ञानेन्द्रले वर्ष बद्लिँदा हर्ष बदलिनुपर्ने र भित्रे पात्रो जस्तै जनजीवन पनि फेरिनुपर्नेमा जोड दिएका छन् ।
नेपालमा चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रक्रियाले नेपाली जनतलाई सन्तुष्ट पार्न नसकिएको बताएका छन् ।
‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नु पर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनु पर्दछ । तर चर्का नारा र गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रक्रियाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेको छैन ।’ ज्ञानेन्द्रद्वारा जारी वक्तव्यमा भनिएको छ ।
त्यसैगरी मित्र राष्ट्रसँगको सम्बन्धमा हामीले अबलम्बन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नती प्रगतीलाई प्रभाव पर्न जाने अवस्थालाई सम्झेर चनाखो हुनुपर्नेमा जोड दिनुपर्ने बताएका छन् ।
‘सबै राष्ट्र, सबै समुदाय मिलेर रहुन्, कतै अशान्ति नहोस् र कोही कसैमा पनि विभाजन, विभेद नरहोस् भन्ने हाम्रो मान्यता हो । छिमेकी मित्र राष्ट्रहरुप्रति हामीले अबलम्बन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नती र प्रगतिलाई मात्र प्रभावित गर्दैन मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पार्न जाने अवस्थालाई सम्झेर हामी सबैले चनाखो हुनुपर्दछ ।
यही भावनालाई आन्तसाथ गर्दै, नेपाल शान्ति भूमि बन्न सकोस् भन्ने आकांक्षा हामीले राखेका छौँ।’ जारी वक्तव्यमा भनिएको छ ।