पाकिस्तानका २३ औँ प्रधानमन्त्रीमा शहबाज शरीफ निर्वाचित


२८ चैत्र २०७८, सोमबार १९:०५ मा प्रकाशित

पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । उहाँ पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ पनि हुनुहुन्छ ।

प्रधानमन्त्री पदका लागि शहबाज शरीफ पाकिस्तानको संयुक्त विपक्षको साझा उम्मेदवार हुनुहुन्थ्यो । आज सोमवार नेशनल असेम्बलीमा भएको विश्वासको मत प्रस्तावमा उहाँले एक सय ७४ मत प्राप्त गर्नुभयो । यस्तै पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) पार्टीका उम्मेदवार शाह महमुद कुरेशीले एक मत पनि पाउनुभएन ।

यसअघि नेशनल असेम्बली सुरु हुनुबित्तिकै इमरान खानसहित पीटीआई पार्टीका सदस्यहरूले त्यहाँको संसदको तल्लो सदन (नेशनल असेम्बली) बाट राजीनामा घोषणा गरेका थिए ।

इमरान खानले अमेरिकी षड्यन्त्रका कारण आफूलाई सत्ताबाट हटाइएको दाबी गर्नुभएको छ ।

हिजो आइतवार नेशनल असेम्बलीमा अविश्वास प्रस्ताव पारित भएपछि पदमुक्त हुनुभएका इमरान खानको ठाउँमा शहबाज शरीफ देशको २३ औँ प्रधानमन्त्री हुनुभएको हो ।

शहबाज शरीफमाथि लेनदेनसँग जोडिएको एउटा मुद्दा चलिरहेको छ र यसको सुनुवाई अप्रिल २७ मा हुने तय भएको छ । यसैबीच अदालतले उहाँलाई अप्रिल २७ सम्म पक्राउ गर्नका लागि रोक लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here