विश्लेषण: बिर्तामोड नगरपालिकाः प्रसाईं र कार्कीलाई नगरका नेता तथा कार्यकर्ताले सर्वाधिक रुचाउनुको अर्थ के?


२७ चैत्र २०७८, आईतवार १२:०६ मा प्रकाशित

झापा । झापाको बिर्तामोड नगरपालिका सबै हिसाबले जिल्लाकै केन्द्र मानिन्छ। व्यापार/व्यवसाय, मानिसहरूको आवतजावत तथा बसोबासका हिसाबले बिर्तामोड नगरपालिका झापाकै व्यस्त शहरका रुपमा परिचित छ।

अहिले सबैको ध्यान यही शहर रहेको नगरपालिकाको बागडोर सम्हाल्न को आउलान्? मेयर को होला उपमेयर को होला? आगामी बैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि केही दलले मेयर तथा उपमेयरका उम्मेद्वारीका लागि नाम सिफारिस गर्न थालिसकेका छन् भने सत्ता गठबन्धनका दल अहिले पनि चुपचाप छन्। उम्मेद्वार सिफारिस गर्ने सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अहिले अग्रपंक्तिमा छ।

झापाकै सन्दर्भमा हेर्ने हो भने एमालेले अधिकांश पालिकाहरूका प्रमुख तथा उपप्रमुखका लागि उम्मेद्वार सिफारिस गर्ने काम गरिसकेको छ। यही मेसोमा झापाको बिर्तामोड नगरपालिकाका लागि मेयर पदको उम्मेद्वारी दिन गरिएको पार्टीको आन्तरिक मतदानमा बर्तमान उपप्रमुख पवित्रा महतारा प्रसाईंलाई बिर्तामोडका नेता तथा कार्यकर्ताले सर्वाधिक रुचाए। उहाँले सर्वाधिक मत पाउनु भयो। उपप्रमुख पदको उम्मेद्वारीका लागि गरिएको आन्तरिक मतदानमा विगतमा नगरपालिकामै रहेर अधिकृत कर्मचारीको रुपमा सेवा गरिसक्नु भएका देवराज कार्कीलाई पार्टीमा सर्वाधिक रुचाइयो र त्यही अनुसार उहाँले मत पनि पाउनु भयो।

यसो भइरहँदा के निचोड दिन सकिन्छ भने जस्ले स्थानीय सरकार बुझेको छ उहाँहरूलाई नै सर्वाधिक रुचाइएको छ। मेयर तथा उपमेयरको उम्मेद्वारीका लागि दौडमा रहनु भएका अन्य नेता तथा कार्यकर्तालाई कम मत प्राप्त हुनुको कारण यही हुनुपर्छ।

मेयर पदका लागि बर्तमान मेयर ध्रुवकुमार शिवाकोटी दोहोरिन चाहनु भयो। तर पार्टीका कार्यकर्ताले त्यति रुचाएनन्। एउटै छानामुनी काम गरिसक्नु भएकी उपमेयर पवित्रा महतारा प्रसाईंलाई सर्वाधिक रुचाइयो। यस्को पछाडि नगरपालिका भित्रको कार्यसम्पादनमा उपमेयर अब्बल ठानिनु भयो। उदाहरणस्वरुप न्यायिक समितिको कार्यसम्पादनमा झापाकै उत्कृष्ट बन्नसक्नु तथा अनुगमनको पाटो चुस्त हुनुलाई लिन सकिन्छ।

मेयर पदको उम्मेद्वारीका लागि बहालवाला मेयर ध्रुवकुमार शिवाकोटी, उपमेयर पवित्रा महतारा प्रसाई, प्रदेश सांसद एकराज कार्की, उमानाथ ओली र वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले उम्मेद्वारीमा आकांक्षा राख्नु भएको थियो।

उपमेयर पदको उम्मेद्वारीका लागि बद्री भट्टराई, देवराज कार्की, गणेश पोखरेल, प्रविण पोखरेल र भीमा शिवाकोटीले इच्छा राखेर निवेदन दिनु भएको थियो।

तर नगरका नेता कार्यकर्ताले सर्वाधिक रुचाए पनि उम्मेद्वार घोषणाको चाबी पार्टीको उच्च निकायसंग छ। पार्टीको उच्च निकायले कसरी मूल्यांकन गर्छ हेर्न बाँकी नै छ। नगरका नेता तथा कार्यकर्ता ढुक्क यस मानेमा छन् कि पार्टीले नगरका कार्यकर्ताको चाहना विपरित कुनै काम गर्ने छैन। तर राजनीतिक खेल भयानक हुन्छ, यसै भन्न सकिन्न।

बिर्तामोड झापाको केन्द्र भए पनि यहाँका समस्या धेरै छन्। सडक विस्तार, पार्किङ अभाव, फोहोरमैला व्यवस्थापनको सकसजस्ता कैयौं समस्याहरू ज्यूँकात्यूँ छन्। प्रयासहरू नभएका होइनन्। तर समाधान अझैसम्म पनि निस्केको छैन।

तीन तहका सरकारमध्ये स्थानीय तह तल्लो तहको सरकार हो। गाउँ/गाउँ पुग्ने सरकार यही हो। आफ्नो क्षेत्रका समस्या पनि समाधान हुन नसके जनतामा सरकारको विश्वनीयता घट्दै जान्छ। मेयर तथा उपमेयरमा जो आए पनि जनताको चाहना काम होस् भन्ने हुन्छ। चुनावी प्रतिवद्धता अनुसार सबैलाई काम गर्ने प्रेरणा मिलोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here