सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ आउने निर्वाचनलाई सामान्य निर्वाचनको रुपमा नलिन अनुरोध गर्नु भएको छ।
सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यो निर्वाचन सामान्य निर्वाचन मात्र नभएर अधिकारकारको रक्षा गर्ने र थप अधिकारको लागि लडाई लड्ने अभियान भएको बताउनु भयो।
अहिले पनि राजावादी शक्तिहरु एकजुट हुन कोशिस गरिरहेको भन्दै अझै पनि संविधान सुरक्षित नरहेको उहाँले बताउनु भयो ।
केपी ओली प्रधानमन्त्री रहेको बेला दुई पटक प्रतिनिधि सभा विघटन गरेको भन्दै प्रतिगामीहरु संविधान मास्ने खेलमा लागिरहेको प्रचण्डको दाबी गर्नु भयो ।
‘अहिले पनि पूर्व राजावादीहरु, जो आज पनि राजावादी नै हुन्, र केपी ओली नेतृत्वको एमाले सरसल्लाह गर्दैछ, उनीहरु यो संविधान उल्टाउने कसरतमा छन्’ उहाँले भन्नुभयो, ‘त्यसैले यो निर्वाचन नेपालीहरुको आत्म सम्मानको रक्षा गर्ने, प्रतिकृयावादीहरुलाई पररास्त गर्दै देशको रक्षा गर्ने, राष्ट्रको रक्षागर्ने, समानता र आत्मसम्मानको रक्षागर्ने ? या प्रतिकृयावादीलाई छोडदिने भन्ने लडाई हो।’





