काठमाण्डौ– नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको प्रतितपत्र एलसी नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ ।
विदेशी मुद्रा सञ्चिती घट्दै गएको र अर्थतन्त्र नै सङ्कटमा पर्न थालेपछि राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ तथा प्रतिनिधिहरूलाई बोलाएर एलसी नखोल्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकको निर्देशनसँगै अत्यावश्यक वस्तु बाहेक अरू विलासी सामानहरूको आयात अब नहुने भएको छ । अहिले विदेशी मुद्रा सञ्चिती ६ महिनाको वस्तु तथा सेवा आयात धान्न समेत नसक्ने अवस्थामा रहेकाले गाडी आयातको एलसी रोक्न भनिएको हो । अहिले गाडीको अत्याधिक माग रहेको छ ।
छलफलमा राष्ट्र बैंकका अधिकारीहरूले गएको साउनयता मात्रै ७० अर्ब रुपैयाँ भन्दा बढीको गाडी तथा पाट पुर्जा आयात भएको भन्दै अब अर्को व्यवस्था नभएसम्मका लागि गाडीको आयात रोक्नुपर्ने बताएका छन् ।





