जुम्ला खस भाषा, संस्कृति र सभ्यताको इतिहासः एमाले अध्यक्ष ओली


१७ चैत्र २०७८, बिहीबार १९:०२ मा प्रकाशित

जुम्ला, १७ चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जुम्ला खस भाषा, संस्कृति र सभ्यताको इतिहास भएको बताउनु भएको छ ।

जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोटमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

‘जुम्लाको खस इतिहासलाई आफ्नो परिस्थिति अनुसार गर्न सक्ने सहयोग मैले गर्ने छु,’ उहाँले भन्नुभयो, ‘केन्द्रबाट गर्ने सबै सहयोगको जिम्मेवारी म लिन्छु । ढुक्क हुनुहोस् र सिञ्जाको विकास गर्न हामी तयार छौं ।’

जुम्लाको विकासका लागि सबैले एकआपसमा हातेमालो गर्नुपर्ने ओलीले बताउनु भयो । उहाँले कर्णालीमा मानसरोवर, कैलाश पर्वत, राराताल, कनकासुन्दरी, त्रिपुरासुन्दरीलगायतका धार्मिक पर्यटकीयस्थल भएको बताउँदै चन्दननाथ बाबाले प्रतिपादन गरेको मार्सीचामलको देशभर चर्चा रहेको बताउनु भयो ।

अध्यक्ष ओलीले जुम्ला सिञ्जाको विकास कसरी गर्न सकिन्छ भनेर हेर्न आएको बताउनु भयो । ‘म जुम्लाको खलंगामा पहिले पनि आएको छु । सिजा किताबमा मात्र पढेको थिए । सिजा हेर्ने र विकास कसरी गर्नसकिन्छ भनेर आफै पुगेको छु,’ उहाँले भन्नुभयो, ‘आगामी निर्वाचनपछि नाग्म रारा जाने सडक पिच बनाएर देखाउनेछौँ ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here