झापा । जिल्ला प्रहरी कार्यालय झापाले २०८२/११/१२ गते भद्रपुर न.पा. वडा नं. ८ एयरपोर्ट घोडामारा सडक खण्डमा भारतीय नम्बर प्लेटका दुई सवारीसाधनमा सवार सात जनालाई पक्राउ गरेको छ। उनीहरूले सरकारी छाप र दस्तखत नक्कली बनाएर ठगी गर्ने योजना बनाएको पाइएको छ।
पक्राउ परेकाहरूमा भारत पश्चिम बंगालका अरिन्दम धर (४५), दिपा भौमिक (३६), सुमन सरकार (३५), नुर कलाम शेख (३७), जलपाईगुरी बस्ने अबेद अली होसैन (५२), उमाचरनपुर फालाकाता बस्ने फारुक अज्मी (२०), र झापाका देवेन्द्र सापकोटा (४३) रहेका छन्।
प्रहरीका अनुसार, पक्राउ परेका अभियुक्तहरूले नोट आकारको सादा कागजको प्रत्येक बन्डलमा मक्कलि कागज र सरकारी पत्र राखेर ठगी गर्ने योजना बनाएका थिए। उनीहरूले मेचिनगर नगरपालिका वडा नं. ४ स्थित होटलमा फोटो तथा भिडियो बनाएर नेपाल भारत सीमा हुँदै चन्द्रगढी आएका थिए।
बरामद सामानमा नक्कली सरकारी दस्तावेज, नेपाल सरकार र नेपाल प्रहरीको निशान छाप भएको कागजात, भारतिय आधारकार्ड, वोटर कार्ड, बैंक कार्ड र मोबाइल फोन रहेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाले पिडितहरूलाई आफ्नो कार्यालयमा सम्पर्क गर्न आग्रह गर्दै अनुसन्धान अघि बढाएको छ। उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम लिखत सम्बन्धी कसुरमा कारबाही हुने बताइएको छ।
सूचना अधिकारी प्र.ना.उ. खगेन्द्र बहादुर खड्का भन्छन्, “नक्कली सरकारी कागजात प्रयोग गरी ठगी गर्ने गिरोहले दुबै मुलुकका नागरिकलाई ठग्ने गरेको हुन सक्ने देखिन्छ। त्यसैले सावधान रहन र पिडितले प्रहरीसँग सम्पर्क गर्न आग्रह छ।






