निर्वाचन केन्द्रित समाचार लेखन र आचारसंहिता प्रशिक्षण


१५ चैत्र २०७८, मंगलवार १८:३२ मा प्रकाशित

बिर्तामोड, चैत १५ । नेपाल पत्रकार महासंघ झापा शाखाले मंगलबार निर्वाचन केन्द्रित समाचार लेखन, सवाल र आचारसंहिता सम्बन्धि १ दिने तालिम प्रदान गरेको छ । महासंघको ६७ औँ स्थापना दिवसका अवसरमा जिल्ला भरका बिभिन्न सञ्चारमाध्यममा आवद्व ७२ जना पत्रकारलाई तालिम प्रदान गरिएको हो ।

सरकारले स्थानिय तहको निर्वाचनको मिति तोकेसँगै जिल्लाका प्रत्रकारहरुलाई समाचार लेखनमा स्तर बृद्वि गर्नका लागि तालिमको आयोजना गरिएको महासंघ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो । तालिममा प्रशिक्षक महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा अन्लाइन खाबरका सम्पादक शिव गाउँलेले स्थानिय सरकारका सवालमा पत्रकारले कलम चलाउन सक्ने बिषय, समाचारमा उठाउनै पर्ने र उठाउन नहुने बिषयका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

तालिममा पत्रकार आचारसंहिताका बारेमा समेत छलफल गरिएको थियो । खोज पत्रकारिता केन्द्रका पूर्व सम्पादक समेत रहनुभएका प्रशिक्षक गाउँलेले अहिलेसम्म नलेखिएका विषयमा खोज मुलक समाचार लेख्नु पर्नेमा जोड दिनुभयो ।

महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमलाई अध्यक्ष गिरी, महासंघ झापाका पूर्व अध्यक्ष चिन्तामणि दाहाल र मोहन काजी न्यौपाने संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

प्रशिक्षण उद्घाटन समारोहमा पूर्व अध्यक्ष दाहाल, फोनिजका निवर्तमान प्रदेश इञ्चार्ज दिपीन राई, नेपाल प्रेस युनियनका जिल्ला सचिव डिल्लीराम घोर्साई, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष मनकुमार गदाल, प्रेस सेन्टरका जिल्ला सचिव उद्धव पुरी, संघीय प्रेस मञ्चका अध्यक्ष दिलकुमार लावतीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संवाद समूह झापाको सहकार्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष केशव भट्टराईले स्वागत तथा उपाध्यक्ष सुशीला संग्रौलाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सचिव डिकेश लामा र सह सचिव अर्जुन राजवंशीले सञ्चालन गरेको कार्यक्रममा सहभागीका तर्फबाट पर्वत पोर्तेल र शान्ति सुब्बाले आफ्ना अनुभव सुनाउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here