काठमाडौं, १५ चैत । सुनसरीको इटहरी उपमहानगरपालिका–२ को जागृतिटोलमा बम ल्याउने मान्छेबाट विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सोही स्थानमा गए राति सुतली बम विस्फोट भएको थियो । उक्त घटनामा परि दुई जना घाइते भएका छन् ।
विस्फोट घटना लगत्तै खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा योजनाबद्ध ढंगले पहिले नै ल्याइ बम राखेर विस्फोट नगराएको पाइएको हो ।
प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डीआईजी) अरुणकुमार बिसीले बम राखेको भन्दा पनि लिएर आउने मान्छेबाट विस्फोट भएको बताउनु भयो।
विस्फोटबाट २२ वर्षीय रवीन थापा र लम्जुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् प्रहरीले उनीहरूलाई पनि निगरानीमा राखेको छ ।
डीआईजी बिसीले विस्फोटको घटनापछि प्रदेश मातहतका सबै प्रहरी युनिटलाई सतर्क रहन निर्देशन दिनु भएको छ ।
गत १५ फागुनमा परिषद्ले पर्चामार्फत सशस्त्र युद्धको घोषणा गरेको थियो । हिन्दु राष्ट्र घोषणा, राजतन्त्र स्थापना, संघीयता खारेजलगायत मुद्दा उठाउँदै युद्धको घोषणा गरेको थियो । घोषणा गरेको ठीक एक महिनामा विस्फोटको घटना भएको हो ।
घटनाको अनुसन्धानको क्रममा चन्दा असुल्न विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।





