झापा। झापामा २८६ मतदान स्थल निश्चित भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । निर्वाचन कार्यालयका निर्वाचन अधिकारी तुलसीकुमार नेपालका अनुसार करिव ७६० मतदान केन्द्रहरु हुने अनुमान गरिएको छ । मतदान स्थल र केन्द्रहरुको अध्ययन,अवलोकन गर्ने काम सम्पन्न भइसकेको छ ।
०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा आवश्यक तयारी गरिरहेको नेपालले जानकारी दिनु भयो । चैत १३ मतदाताको अन्तिम नामावली प्रकाशन भएपछि मतदान केन्द्रहरु निश्चित हुने उहाको भनाई छ । जिल्ला निर्वाचन कार्यालय झापाले निर्वाचनको आवश्यक कामलाई निरन्तर रुपमा अघि बढाइरहेको छ । निर्वाचन अधिकारी नेपालका अनुसार मतदाता नामावली अध्यावधिकको काम समेत सम्पन्न भइसकेको छ ।
निर्वाचन आयोगले जिल्लालाई बैशाख ३० गतेका लागि आवश्यक सामग्री पठाएको छ । पठाउँन बाँकी सामग्री पनि केहि समयमै आइपुग्ने निर्वाचन कार्यालय झापाले जनाएको छ। यस्तै, बैशाख ८ गते झापाका १५ पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने बताइएको छ ।
बैशाख ११ देखि १७ गतेसम्म निर्वाचन कार्यक्रम अन्तर्गत मनोनयन, उम्मेद्वारहरुको नामावली प्रकाशन, दावी विरोध, छानविनपछिको अन्तिम नामावली प्रकाशन, उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यालयले जनाएको छ ।
जिल्लामा स्थानीय तह निर्वाचनको लागि राष्ट्रिय ६ दलसहित ३६ दल दर्ता भइसकेका छन् । यस्तै, निर्वाचन लक्षित सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय झापाले योजना कार्यान्वयन गरिरहेको बुझिएको छ । झापामा ६ लाख ५० हजार २ सय ५८ मतदाता संख्या रहेको छ । त्यसमा अन्य ९ जना रहेका छन् ।





