पाथीभराङवरक गाउँपालिकाका ज्येष्ठ नागरिकलाई दन्त उपहार


२३ फाल्गुन २०७८, सोमबार ११:५६ मा प्रकाशित

ताप्लेजुङ, फागुन २३ । ताप्लेजुङको पाथीभराङवरक गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दन्त उपहार दिने भएको छ । गाउँपालिकाले ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम ल्याएको हो ।

सबै वडामा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र लिम्बुले बताउनुभयो । पहिलो चरणमा प्राविधिकले ज्येष्ठ नागरिकको दाँतको परीक्षण गर्ने उहाँले बताउनु भयो । त्यसपछि कति दाँत लगाउनुपर्ने यसको नाप लिइने छ । सबै वडामा ज्येष्ठ नागरिकको दाँतको आकारको नाप प्राविधिकले लिनेछ । नापअनुसारको दाँतको डिजाइन गरेर गाउँपालिका केन्द्रमा दाँत उपलब्ध गराउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाभित्रका ५० ज्येष्ठ नागरिकलाई दन्त उपहार उपलब्ध गराउने योजना रहेको गाउँपालिकाले जनाएको छ । उपलब्ध गराएको दन्तमा केही समस्या आएमा दश वर्षसम्म निःशुल्क मर्मत गर्ने गरी अस्पतालसँग गाउँपालिकाले सम्झौता समेत भएको प्रमुख प्रशासकीय अधिकृत लिम्बुले बताउनुभयो ।

ज्येष्ठ नागरिकको मनोबल बढाउनका लागि ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रममार्फत गाउँपालिकाले निःशुल्क दाँत उपलब्ध गराउन लागेको गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here