चिसोका कारण बजार तथा सार्वजनिक ठाउँमा चहलपहल घट्यो : बाक्लो हुस्सु, कुहिरोका कारण तराईका केही जिल्लामा जनजीवन प्रभावित


२० पुष २०७८, मंगलवार १२:१५ मा प्रकाशित

झापा, पुस २० । केहिदिन यतादेखि बाक्लो हुस्सु, कुहिरोका कारण तराईको केही जिल्लामा जनजीवन प्रभावित हुन थालेको छ ।

लगातारको बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै गएको छ । चिसो बढेपछि धेरैजसो ठाउँमा चोकचोकमा आगो बाल्न थालिएको छ ।

हिउँदे वर्षासँगै तराईका जिल्लामा लगातारजसो बाक्लो हुस्सु, कुहिरो लागेको छ । चिसोका कारण दैनिक ज्याला मजदुरी गर्ने श्रमिक सबैभन्दा धेरै मर्कामा परेका छन् । बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या देखिन थालेको छ । तराईका केही विद्यालयमा भने अत्याधिक चिसोका कारण बिदासमेत दिन थालिएको छ ।

चिसोका कारण सहर बजार तथा सार्वजनिक ठाउँमा चहलपहल घटेको छ । केही ठाउँमा बेलुकासम्म नै कुहिरो लाग्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँकाअनुसार भोलि पनि बाक्लो हुस्सु, कुहिरो लाग्ने सम्भावना छ । तराई बाहेकका जिल्लामा भने आज घाम लाग्ने अनुमान छ ।आज बेलुकादेखि भने नेपालमा फेरि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पर्ने मौसमविद् पौडेलले बताउनुभयो ।

उहाँकाअनुसार सुदूरपश्चिम हुँदै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पर्नेछ । यसकै कारण भोलि र पर्सि देशका धेरै ठाउँको मौसम बद्ली हुने मौसमविद् पौडेलले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here