पाँचथर, कात्तिक ६ । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरोमा परि घाइते भएकाको उपचारका लागि गएका दुई जना स्वास्थ्यकर्मी बेपत्ता भएका छन् ।
इलामको माङसेबुङ गाउँपालिकाबाट पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ मा रहेको चिसापानी पञ्चमी जान लागेका स्वास्थ्यकर्मी सुमन राई र ठाकुरसिंह याक्खा पाँच दिनदेखि सम्पर्कविहीन रहेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले जानकारी दिनुभयो ।
पाँचथरमा बाढीपहिरोमा परि बेपत्ता हुनेको सङ्ख्या ६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मिक्लाजुङमा तीन, फिदिममा दुई र फाल्गुनन्दमा एक जना बेपत्ता भएका छन् । उनीहरूको खोजीका लागि स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिरहेका जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।
पाँचथरमा अहिलेसम्म बाढीपहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ ।





