बिराटनगर, असोज १७ । छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी १ नम्बर प्रदेशमा ४ जनाको मृत्यु भएको छ ।
शनिवार भएको सवारी दुर्घटनामा तेह्रथुमको लालीगुराँस नगरपालिका ४ को ग्रामिण सडक खण्डमा को २ त ८४२६ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा लालिगुराँस नगरपालिका ५ का २२ बर्षीय पञ्चबहादुर मङग्रातीको घटनास्थलमा नै मृत्यु भएको हो ।सोही ट्याक्टरमा सवार रहेका लालिगुराँस नगरपालिका ५ का १६ बर्षीय हिम बहादुर सार्की घाईते भई उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
यसैगरी सुनसरीको दुहवी नगरपालिका १० मा शनिवार साँढे ५ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १९ प ५०८ नम्बरको मोटरसाईकल आफै अनितन्त्रीत भई बिजुलीको पोलमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक दुहवी नगरपालिका ११ का ४५ बर्षीय ईश्वरचन माझी (चौधरी) को उपचारको क्रममा टिचिङ अस्पताल बिराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।
यस्तै दुहवी नगरपालिका ८ मा शनिवार साँझ साँढे ६ बजे ना ५ ख ४५१३ नम्बरको बसले बाटो क्रस गर्दै गरेका पैदल यात्री बेलवारी नगरपालिका ५ का ७२ बर्षीय पवनलाल चौधरीलाई ठक्कर दिंदा घाईते भएका चौधरीको उपचारको क्रममा राती ७ बजे बिराट मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।
दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





