सङ्खुवासभा, असोज ४ । गत भदौ २८ गते सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा भएको सामूहिक हत्या घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले थप छ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ नरेश कार्की र उनका बुबा, काका, काकी तथा दुई छोरामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
अनुसन्धानका क्रममा रहेकाले अहिले नै सबैको विवरण सार्वजनिक गर्न नमिल्ने प्रहरीको भनाइ छ । लोकबहादुरका भाइ नरेशका साथबाट मृतक रञ्जना कार्कीको मोबाइल फेला परेपछि प्रहरी अनुसन्धान लम्बिएको हो । लोकबहादुर र नरेशसँगको बयानका आधारमा प्रहरीले थप पाँच जनालाई अनुसन्धानको दायरामा ल्याएको बताइएको छ ।
मृतक रञ्जनाको हराएको मोबाइल प्रहरीले फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थलमा केन्द्रित बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताउनुभयो । पक्राउ परेका लोकबहादुरको घरबाट गत बिहीबार मृतकको मोबाइल भेटिएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





