ताप्लेजुङ, भदौ ३० । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरदर्शनार्थीका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ ।
विगत ५ महिनादेखि कोभिड–१९ संक्रमणका कारण बन्द रहेको पाथीभरा मन्दिर आगामी असोज १ गतेदेखि खुला गर्न लागिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
महामारीको प्रभाव न्यून हुँदै गएको र दर्शनार्थी आउने समय सिजन समेत सुरु भएकाले मन्दिर खुला गर्न लागिएको समितिले जनाएको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै दर्शन गर्न आउने भक्तहरूले स्वास्थ्य मापदण्ड पालना अनिवार्य पालना गर्नुपर्ने समितिले जनाएको छ । मन्दिर खुलेसँगै दर्शनार्थीले दर्शन, पूजा, ध्यान तथा प्रार्थना गर्न पाउने भएका छन् ।
मन्दिर खुल्ने भएसँगै पाथीभरा क्षेत्रका स्थानीय पर्यटन व्यवसायी पनि खुसी भएका छन् । महिनौंदेखि ठप्प भएको आफ्नो व्यापारले जीवन पाउने उनीहरूको विश्वास छ ।
ताप्लेजुङमा पछिल्लो समय संक्रमणको दर न्यून हुँदै गएको छ । संक्रमण कम भएसँगै ४ महिनादेखि लगाइएको निषेधाज्ञा समेत हटाइएको छ ।





