काठमाडौं, भदौ २४। दशरथ रंगशालामा आज भएको बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले जित निकालेको छ । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले हराएको हो ।
दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि सबिता राना र प्रिती राईले डेब्यू गोल गरिन् । पहिलो हाफमा नेपालले बंगलादेशमाथि २ ० गोलको अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा बंगलादेशले एक गोल लगाउन सफल भयो ।
नेपालका लागि सबिता रानाले खेलको १४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । त्यस्तै खेलको २२औँ मिनेटमा प्रितीले गोल गर्दै टिमको अग्रता दोब्बर पारिन् ।
८३औँ मिनेटमा बंगलादेशकी टोहुरा खातुनले गोल गरेपनि हार टार्न सकेन ।
एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेलेको हो ।
दुई टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।





