कचनकवल गाउँपालिका :भवन निर्माण कार्य सम्पन्न नगरी प्रदेश सरकारको बजेट मात्र खर्च


९ श्रावण २०७८, शनिबार १८:४८ मा प्रकाशित

झापा ।  दक्षिणी झापाको कचनकवल गाउँपालिकाले भवन निर्माण कार्य सम्पन्न नगरी प्रदेश सरकारको बजेट मात्र खर्च गरेको खुलेको छ।

१ नम्बर प्रदेश सरकारको समपूरक अनुदानमा अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा कचनकवल गाउँपालिकालाई राजवंशी समाज विकास समितिको भवन निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो।तर,गाउँपालिकाले भवन निर्माणकार्य सम्पन्न नहुँदै प्रदेश सरकारको एक करोड रुपैयाँ बजेट खर्चमा तानिसकेको भेटिएको हो।

प्रदेश लेखा इकाइ कार्यालय झापाको तथ्याङ्‌क अनुसार गाउँपालिकाले जेठ महिनासम्म ६६ लाख ६७ हजार खर्च गरेको थियो भने असार महिनामा ३३ लाख ३३ हजार रुपैयाँ खर्च गरेको थाहा लागेको छ।

सरकारको खर्चसम्बन्धी मार्गदर्शन नियमअनुसार कुनै पनि स्थानीय तहले फ्रिज भएको रकम साउन ७ गतेसम्म फिर्ता गर्नुपर्ने प्रावधान रहेको प्रदेश लेखा इकाइ कार्यालय झापाका कर्मचारी राम आचार्यले जानकारी दिनु भयो ।तर,गाउँपालिकाले असारमा खर्चमा हुन नसकेको फ्रिज रकम अहिलेसम्म फिर्ता गरेको देखिँदैन।गाउँपालिकाले शुक्रबारसम्म पनि प्रदेश लेखा इकाइमा फ्रिज भएको रकम फिर्ता नगरेको कर्मचारी आचार्यको भनाइ छ।

यता,गाउँपालिकाले खर्च भएको रकम फ्रिज भएको दाबी गर्दै आएको छ। प्रदेश लेखा इकाइ कार्यालयको तथ्याङ्‌कमा रकम फ्रिज भएको नदेखिएपछि गाउँपालिकाको यस्तो अपारदर्शी कामप्रति स्थानीयस्तरबाटै विरोध शुरू भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here