काठमाडौं । नेपाली कांग्रेसको तल्ला तहका सबै अधिवेशनहरू स्थगित भएका छन् ।
शनिबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशन स्थगनको निर्णय गरेको हो ।केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो ।
पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पादधिकारी बैठकले अधिवेशनको अर्को कार्यतालिका नबन्दासम्म सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।वडा अधिवेशन तोकिएको १२ गते क्रियाशील सदस्यता छानविन समितिले केन्द्रीय समितिलाई आफ्नो प्रतिवेदन बुझाउने केसीले बताउनुभयो ।
कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता तोकिएको छ ।तर,क्रियाशील सदस्यता विवाद टुंगो नलागेको र तल्ला तहका अधिवेशन समेत स्थगित भएपछि महाधिवेशनको विकल्पका बारेमा समेत छलफल सुरु भएको छ ।शनिबारको पदाधिकारी बैठकमा पनि महाधिवेशन गर्ने उपाय र विकल्पको बारेमा छलफल भएको नेताहरूले बताएका छन् ।
पूरानै प्रतिनिधि कायम राखेर महाधिवेशन गर्ने, केन्द्रीय कार्य समिति र प्रदेश समितिको मात्र अधिवेशन गर्ने वा महाधिवेशन सार्ने कानूनी र संवैधानिक उपाय सोच्ने लगायतका विकल्पमा छलफल भएको छ ।





