काठमाडौं । एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ ।हिजो बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
एमालेको यो निर्णय लगत्तै सोमबार बेलुका माधव नेपालसहितका २२ सांसदहरुबीच स्पष्टीकरणको जवाफ दिने कि नदिने भन्ने विषयमा छलफल भएको थियो । उक्त छलफलले जवाफ दिन जरुरी नरहेको निष्कर्ष निकालेको सांसद मेटमणि चौधरीले जानकारी दिनुभयो ।
ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको एमाले बैठकमा अध्यक्ष ओलीले एमालेका सांसदहरूले देउवालाई विश्वासको मत दिएर शर्मनाक र लज्जास्पद चरित्र देखाएको बताउनुभएको थियो । अध्यक्ष ओलीले देउवालाई भोट हाल्ने २२ जना नेता एमालेमा नफर्कने निष्कर्ष सुनाउँदै उनीहरूबिनै एमाले पार्टी चल्ने संकेत गर्नुभएको थियो ।
हिजो देखि जारी केन्द्रीय कमिटी बैठक रोकेर अध्यक्ष ओलीको निजी निवास बालकोटमा स्थायी समिति बैठक बसेको थियो ।उक्त बैठकमा देउवालाई भोट हाल्ने २२ जनालाई कस्तो कारबाही गर्ने भन्नेबारे छलफल भएको थियो ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले फ्लोर क्रस गर्ने २२ जनालाई स्पष्टीकरण पत्र पठाएको भन्दै सम्भव त आज बस्ने केन्द्रीय कमिटी बैठकले उनीहरूमाथि गर्ने कारबाहीबारे निर्णय हुनसक्ने बताउनुभयो ।





