झापा । मेचीनगर नगरपालिका–१४ ढुवागढी स्थित हडिया खोला नजिकैको खाली जमिनमा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण कार्य सुरु गरिएको छ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले पूर्वी नेपालको काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गर्न नागरिकका लागि सो क्षमताको होल्डिङ सेन्टर निर्माण गर्न लागेको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बुधवार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समिति (डीसीसीएमसी)को बैठकले हडिया खोला नजिकैको दक्षिणतर्फको खाली रहेको चार बिघा जमिनमा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको थियो ।
बैठकले होल्डिङ सेन्टर निर्माणका लागि स्थान पहिचान गरेसँगै बुधबारदेखि नै निर्माण कार्य सुरु भएको नयाँ श्रीनाथ गणका प्रमुख सेनानी अमरजंग थापाले जानकारी दिनु भयो ।
करिब २२ करोड रुपैयाँ लागत बन्ने होल्डिङ सेन्टर निर्माणको ठेक्का हनुमान कन्स्ट्रक्सन काठमाडौंले लिएको छ ।





