नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज


१६ असार २०७८, बुधबार १०:३६ मा प्रकाशित

काठमाण्डाै ।  नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज बस्दैछ ।आजको बैठकले महाधिवेशन आयोजक कमिटीलाई विघटन गरेर केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने एमालेले जनाएको छ ।

केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वतः पुनर्वहाली हुने र माधव नेपालसहित ११ जना नेतालाई गरिएको कारबाही समेत स्वतः निष्क्रिय हुने भएको छ ।हिजो बसेको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी भंग गर्दै पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरिसकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो अबेरसम्म बसेको एमाले स्थायी कमिटी बैठकले जेठ २ मा फर्किने औपचारिक निर्णय गरेको हो ।

पर्सि १८ गते एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको छ ।२०७५ जेठ ३ गतेसम्म जो जुन पदमा थिए त्यही पदीय जिम्मेवारीसहित केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेछन् ।नेकपा एकतापछि एमालेमा फर्किएका माओवादी केन्द्रका नेताहरूसमेत नेकपामा हुँदा जुन जिम्मेवारीमा थिए, त्यही जिम्मेवारीसहित एमाले बैठकमा सहभागी हुनेछन् ।

दोस्रो तहका नेताहरूको छलफल र सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि पार्टीलाई जेठ २ को अवस्थामा फर्काउन अध्यक्ष केपी शर्मा ओली सहमत हुनुभएको हो ।गएको फागुन २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी,विधान र नेतृत्व कायम हुनुपर्ने माग पार्टीभित्र उठिरहेको थियो ।

वरिष्ठ नेता माधवकुमार नेपाल,उपाध्यक्ष वामदेव गौतमसहितको समूहले पनि माओवादीसँग एकतापूर्वको पार्टी कमिटी अनुसार अघि बढ्नुपर्ने अडान राख्दै आएका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here