झापा । मेची अञ्चल अस्पताल भद्रपुरमा पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द गरिएको छ ।
अस्पतालमा पीसीआर रिएजेन्ट किटको अभाव भएसँगै शनिवारदेखि पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द गरिएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिनु भयो । दोस्रो लहरको नयाँ भेरियन्टको कोरोना संक्रमण समुदाय स्तरमा फैलिएसँगै मेची अस्पतालमा पीसीआर परीक्षण गराउन आउनेको सङ्ख्या ह्वातै बढेको थियो ।दैनिक दुई सय जना बढीले कोरोना संक्रमण भए वा नभएको भन्दै पीसीआर परीक्षण गराउन अस्पताल आउने गरेको सूचना अधिकारी पोखरेलले बताउनुभयो ।पीसीआर परीक्षण गराउने आउनको सङ्ख्या बढ्नु तर त्यस अनुसारको अस्पताललाई पीसीआर किट रिएजेन्ट उपलब्ध नहुँदा सेवा बन्द गर्नु परेको उहाँको भनाई छ ।
अघिल्लो वर्ष स्विस सरकारले उपलब्ध गराएको अत्याधुनिक पीसीआर मेसिन एक नम्बर प्रदेश सरकारले मेची अस्पताललाई हस्तान्तरण गरेको थियो । मेचीको पीसीआर मेसिन अत्याधुनिक खालको भएको र यसले एक पटकमा ९० वटा स्वाबको परीक्षण गर्न सक्छ ।त्यसैले यस मेसिनलाई चाहिने रिएजेन्ट किट बजारमा किन्न पाइँदैन ।यो किट सरकारले नै मगाउने हो ।प्रदेश १ सामाजिक विकास मन्त्रालयसँग पनि किट नभएको सूचना अधिकारी पोखरेलको भनाई छ ।उहाँले मन्त्रालयले सात दिनअघि पाँच सय किट उपलब्ध गराएको बताउँदै त्यो किट तीन दिनमै सकिएको बताउनु भयो । अव किट आएपछि मात्र परीक्षण सुरु हुने जनाईएको छ ।
मेचीमा पीसीआर परीक्षण बन्द भएपछि बिरामीलाई समस्या उत्पन्न भएको छ ।झापासहित ताप्लेजुङ, पाँचथर र इलाम जिल्लामा सङ्कलित स्वाब ल्याएर मेचीमै पीसीआर परीक्षण गरिदै आएको थियो ।अब जिल्लाको कनकाई नगरपालिकास्थित कोटिहोमको पीसीआर ल्याबमा मात्र पीसीआर परीक्षण हुनेछ ।





