काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि दिएको समय घर्किँदै गएको छ।
सरकारको सिफारिस अनुसार राष्ट्रपतिले नयाँ सरकार गठनको लागि २१ घण्टा अर्थात आज बेलुकी पाँच बजेसम्मको समय दिनुभएको छ ।
राष्ट्रपतिले दिएको समय सकिन ६ घण्टा बाँकी रहँदा कुनै पनि दले स्पष्ट निर्णय गरिसकेका छैनन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको एउटा समूहले ओलीको विरुद्धमा बहुमत पुर्याएर नयाँ सरकारको दाबी गर्नुपर्ने बताए पनि बहुमत जुटाउन सकेका छैनन् ।
नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ भने माओवादी आन्तरिक छलफलमा छ । जसपाभित्र अध्यक्ष महन्थ ठाकुर पक्षले ओलीलाई साथ दिने सङ्केत दिँदै संसदीय दलको बैठक डाकेको छ । तर जसपाकै बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले भने ओलीलाई साथ दिन नहुने बरु आफ्नै नेतृत्वमा सरकार गठन गर्नुपर्ने बताउँदै आएका छन् ।
दलहरुले अहिलेसम्म निर्णय गरिनसकेकाले राष्ट्रपतिले दिएको समयसम्म कसैले पनि नयाँ सरकारको दाबी नगर्ने सम्भावना बढ्दै गएको छ ।राष्ट्रपतिले तोकेको समयसम्म पनि कसैले बहुमतको सरकारको दाबी गर्न नसकेमा प्रधानमन्त्रीले संसद विघटन गरेर चुनावको मिति घोषणा हुने सम्भावना धेरै छ ।





