काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी राष्ट्र बंगलादेशको भ्रमणमा जाने भएकी छन् ।
राष्ट्रपति भण्डारी चैतको दोस्रो साता बंगलादेश भ्रमणमा जाने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । मन्त्री ज्ञवालीले भने, ‘बंगलादेशका राष्ट्रपतिज्यूको निमन्त्रणामा मार्चको अन्तिम साता उहाँ जान लाग्नुभएको हो । भ्रमणको मिति दुबै पक्षले तय गर्दैछन्।’
भण्डारी मार्च २२ मा ढाका जाने सम्भावना छ । बंगलादेश सरकारले बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीका अवसरमा छिमेकी र मित्र राष्ट्रका नेताहरूलाई निम्त्याएर विभिन्न कार्यक्रमहरू गरिरहेको छ । सोही अवसरमा राष्ट्रपति भण्डारीले पनि बंगलादेश भ्रमण गर्न लागेकी हुन् ।
राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण गत वर्ष कोरोनाभाइरसको महामारीले लकडाउन भएपछि नेपालबाट हुने पहिलो उच्चस्तरीय वैदेशिक भ्रमण हुनेछ ।





