प्रधानमन्त्री र जसपाका नेताहरुसँगको वार्ता सकारात्मक


२८ फाल्गुन २०७७, शुक्रबार ०८:२५ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच बिहीबार साँझ सत्ता साझेदार लगायतका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सत्ता साझेदारी लगायत समसामयिक राजनीतिक विषय केन्द्रित भएको बताइएको छ ।

सत्तासमीकरणमा जसपा निर्णायक शक्ति जस्तै बनेका बेला प्रधानमन्त्रीसँग भएको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

आफूहरुका मागमा प्रधानमन्त्री सकारात्मक रहेको जसपाका नेता लक्ष्मणलाल कर्णले बताए । उनले अबको वार्ता कार्यदल स्तरमा हुने जानकारी दिए ।

जसपाले संविधान संशोधन, मुद्दा फिर्ता, रेशम चौधरीको रिहाई लगायतका शर्त राख्दै आएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न जसपाका पाँच शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र लक्ष्मणलाल कर्ण बालुवाटार पुगेका थिए।

भेटमा प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायत सहभागी थिए।

जसपाले बिहीबार दिउँसोको पदाधिकारी बैठकबाट सरकारमा सहभागिताबारे निर्णय लिनुअघि एमाले, कांग्रेस र माओवादी केन्द्रसँग छुट्टाछुट्टै वार्ता गर्ने निर्णय गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here