प्रधानमन्त्री ओली आज झापा र मोरङका कार्यक्रममा सहभागी हुने


१८ फाल्गुन २०७७, मंगलवार ०८:३९ मा प्रकाशित

झापा । दुई दिनदेखि काठमाडौँ उपत्यका बाहिरका कार्यक्रममा व्यस्त भएका प्रधानमन्त्री केपी शर्मा ओली आज पनि झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।

बिहान ११ बजे झापाको भद्रपुर पुग्ने ओलीले मध्याह्न साढे १२ बजे अनारमनी नगरपालिकाले विपन्नहरूका लागि निर्माण गरेको एकीकृत बस्ती हस्तान्तरणको कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

त्यसलगत्तै प्रधानमन्त्री ओली बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनमा सहभागी हुनेछन् ।

सो कार्यक्रम सकेर प्रधानमन्त्री ओली अपराह्न तीन बजे मोरङको उर्लाबारीमा निर्माण गर्न लागिएको एकीकृत सन्थाल बस्तीको शिलान्यासमा सहभागी हुने कार्यक्रम तय भएको छ ।

लामो समयदेखि सुकुम्बासी जीवन बिताइरहेको सन्थाल समुदायका लागि उर्लाबारीमा १३६ परीवारलाई लक्षित गरी एकीकृत बस्ती तयार गरिने भएको छ ।

बस्ती ३० करोड रुपैयाँको लगानीमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । उर्लाबारी नगरपालिका–८ र ९ को सीमानामा रहेको रातोहोली खोल्सीको छेउमा एकीकृत बस्ती निर्माणपछि उनीहरूलाई सहज हुने अपेक्षा गरिएको छ ।

उर्लाबारीको उक्त कार्यक्रमसकिएपछि प्रधानमन्त्री ओली आजै साँझ विराटनगर विमानस्थल हुँदै काठमाडौँ फर्कने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here