बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाश शिवाकोटी निर्वाचित भएका छन् । सोमबार राति ९ बजे सम्पन्न मतगणना अनुसार लोकतान्त्रिक प्यानलका शिवाकोटीले प्रतिस्पर्धी संयुक्त प्यानलका सुवास भट्टराईलाई हराएका हुन् ।
शिवाकोटीले २ हजार १३९ मत प्राप्त गरे भने भट्टराईले एक हजार ६१५ मत पाएका छन् ।मतपरिणामाअनुसार महासचिव,वाणिज्य सचिव,दुई खुला सदस्य र एक महिला सदस्यबाहेक सबै पदमा शिवाकोटी नेतृत्वको प्यानलले जितेको छ ।
निर्वाचन समितिका सदस्य केशव भट्टराईका अनुसार वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिका राजु न्यौपाने विजयी भए । उनले संयुक्तका नारायण चिमरियालाई हराए ।न्यौपानेले २ हजार ११६ मत र चिमरियाले एक हजार ५९२ मत प्राप्त गरे ।
उद्योग उपाध्यक्षमा लोकतान्त्रिका सञ्जीव घिमिरेले एक हजार ९४० र संयुक्तका प्रकाश घिमिरेले एक हजार ७१८ मत प्राप्त गरे ।वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे (राजु) ले २ हजार २७८ र संयुक्तका राधाकृष्ण अधिकारीले एक हजार ३२३ मत पाए । महासचिवमा संयुक्तका अर्जुनकुमार मैनालीले लोकतान्त्रिकका रविन्द्र भट्टराईललाई २६ मतले पराजित गरे । मैनालीले एक हजार ८४३ मत प्राप्त गरे ।
उद्योग सचिवमा लोकतान्त्रिकका कुशल खतिवडाले सर्वाधिक लोकप्रिय मत पाएका छन् । उनले २ हजार ५५० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी धनबहादुर डाँगीले एक हजार ६३ मत पाए ।वाणिज्य सचिवमा संयुक्तका कृष्ण पौडेल विजयी भए ।उनले लोकतान्त्रिकका राजकुमार शाहलाई हराए ।पौडेलको एक हजार ९६६ र शाहको एक हजार ६७४ मत रहेको छ ।
कोषाध्यक्षमा लोकतान्त्रिकका दिपेन्द्र राउतले संयुक्तका दुर्गाप्रसाद थपलियालाई पराजित गरे ।राउतले २ हजार १२२ मत पाउँदा थपलियाले एक हजार ५२४ मत प्राप्त गरे ।सहकोषाध्यक्षमा लोकतान्त्रिककी राधिका चुडाल विजयी भइन् । उनले संयुक्तकी रञ्जु प्याकुरेललाई हराइन् ।चुडालले एक हजार ९७० मत र प्याकुरेलले एक हजार ६२४ मत पाए ।
महिला सदस्यमा तुलसा ढकाल (२१९५) र रुचि शिवाकोटी (२०७६) विजयी भए ।ढकाल लोकतान्त्रिक र शिवाकोटी संयुक्त प्यानलका हुन् ।खुला सदस्यमा विशाल थापा २०९९, गुञ्जन प्रसाईं २००८, पुकार बराल २०००, जीवनकुमार खड्का १९१८, दिपक मित्तल १८९९, बलराम सिटौला (राम) १८६१ र गौरीशंकर गुप्ता (टिंकु) १७९० विजयी भए । प्रसाईं र गुप्ता संयुक्त र खड्का स्वतन्त्र उम्मेदवार थिए ।
जनसम्पर्क उपाध्यक्ष नैनकला भट्टराई निर्विरोध निर्वाचित भइसकेकी छन् ।उनकी प्रतिस्पर्धी उम्मेदवार उर्मिला बिमली खरेलको उम्मेदवारीमा रीत नपुगेपछि निर्वाचन समितिले खारेज गरेको थियो ।त्यस्तै, महिला सदस्य तिलोत्तमा खत्री तथा खुला सदस्य विकास बस्नेत र उमेश शाहको उम्मेदवारी पनि खारेज भएको थियो ।
संघको निर्वाचनमा ८४ दशमलव ९९ प्रतिशत मतदाताले मतदान गरेको निर्वाचन समिति सदस्य गजेन्द्रबहादुर पौडेलले बताए ।अर्थात ३ हजार ८५८ मत खसेको थियो ।संघमा कुल मतदाता संख्या ४ हजार ५३९ रहेको थियो । ११ मत पूर्वअध्यक्षहरुको रहेको थियो ।





