काठमाडौँ आइपुग्यो कोरोनाविरुद्धको १० लाख डोज खोप


९ फाल्गुन २०७७, आईतवार १५:४७ मा प्रकाशित

काठमाडौँ । सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको खोप काठमाडौँ आइपुगेको छ ।

सरकारले भारतसँग खरिद गरेको १० लाख डोज ‘कोभिशिल्ड’ खोप काठमाडौँ आइपुगेको हो । आज सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित १० लाख डोज खोप एयर इन्डिया दिल्लीको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

सरकारले फागुन ५ गते सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो । त्यही सम्झौताअनुरुप पहिलो खेपको खोप आएको हो । खोपको दोस्रो खेप पनि फागुन २३ गते अगावै आउने स्वास्थ्य मन्त्रालयले बताएको छ ।

भारतबाट आएको खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरिनेछ । त्यसपछि फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here