प्रधानमन्त्रीको असंवैधानिक कदमलाई देउवाले साथ दिए : पौडेल


९ फाल्गुन २०७७, आईतवार १४:१७ मा प्रकाशित

इटहरी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई पार्टी सभापति शेरबहादुर देउवाले साथ दिएको आरोप लगाएका छन् ।

आज प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले देउवाको साथ र समर्थनका कारण ओली थप अधिनायकवादतर्फ उन्मुख भएको बताए । उनले ओलीलाई देउवाको समर्थनपछि संविधान, लोकतन्त्र र गणतन्त्र धरापमा परेको बताए ।

उनले भने, ‘देउवाको साथ र समर्थन पाएपछि ओली झन् अधिनायकवादी बन्न थाले । संविधान, लोकतन्त्र, गणतन्त्र र संघीयता धरापमा पर्ने खतरा बढ्यो।’

नेता पौडेलले कांग्रेसको आधिकारिक निर्णय भनेको प्रतिनिधि सभा विघटन असंवैधानिक भन्ने रहेको बताउँदै कार्यकर्तालाई आन्दोलनमा लाग्न आग्रह गरे । उनले संविधान रक्षाको जिम्मा कांग्रेसको काँधमा आएको बताउँदै प्रतिनिधि सभा विघटनका विपक्षमा उभिन समेत आग्रह गरे ।

उनले सरकारले गरेका भ्रष्टाचार, गैरसंवैधानिक नियुक्तिमा पनि देउवाले ओलीलाई साथ दिएको आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here