विर्तामोड उद्योग वाणिज्य संघमा विरासत तोड्ने उम्मेदवारी


४ फाल्गुन २०७७, मंगलवार २१:३६ मा प्रकाशित

उदय मैनाली,विर्तामोड ।     लोकतन्त्रको अनुपम सौन्दर्यको रुपमा रहेको संगठन खोल्ने र स्वस्थ प्रतिस्पर्धा मार्फत पेशागत र समुहगत सौदाबाजी गर्ने सुनौलो अभ्यासलाई आधार मान्दै विभिन्न पेशागत संघ संगठनको निर्वाचन हुने र पेशा व्यवसायको हक हित तथा उन्नयनमा लाग्ने क्रममा मेची अञ्चलको व्यवसायिक हवको रुपमा विकास हुँदै गरेको विर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन यहि फागुन १६ गते तोकिएसँगै व्यवसायीहरु बिच चुनावको सरगर्मी बढेको छ ।

आसन्न निर्वाचनमा विर्तामोड क्षेत्रभित्र रहेका व्यवसायीहरुले कस्तो नेतृत्वलाइ चुन्ने र विर्तामोडको बढ्दो व्यवसायिककरणलाई कुन अवस्थामा पुर्याउने भन्ने विकल्पको खोजी शुरु भइसकेको छ । यसै परिस्थितिमा यस निर्वाचनमा हालसम्म मुख्य रुपमा दुई खेमाको घनघोर भिडन्त हुने प्रायः निश्चित देखिएको छ ।जसमा नेकपा र राप्रपा पार्टीको संयुक्त प्यानल र नेपाली कांग्रेस लगायतको अर्को प्यानल ।यी दुई प्यानलको चुनावी भिडन्तमा कस्को पल्ला भारी हुने हो अबको दुई हप्ताले निर्णय गर्नेछ ।

विर्तामोड उद्योग वाणिज्य संघको चुनावमा आजसम्म नेकपा र राप्रपा पार्टीको संयुक्त प्यानलबाट अध्यक्ष,वरिष्ठ उपाध्यक्ष र महासचिवको उम्मेद्धारी घोषणा भइसकेको अवस्था छ ।विगतको चुनाव भन्दा यो चुनावलाई महत्व र विशेष परिस्थितिको रुपमा किन लिइयो होला ?

वाणिज्य संघको चुनाव त पहिला पनि भएकै हो ।भन्ने सबैमा लाग्न सक्छ तर आधुनिक र प्रविधिको उच्च्तम विकाससँगै आजको विर्तामोड पहिला जस्तो रहेको छैन ।वर्तमान पुस्ताको व्यवसाय र प्रविधिमा व्यापक संलग्नतासँगै अबको विर्तामोड एउटा अत्याधुनिक विचार बोकेको,पुर्वको व्यापार र पर्यटनको संवाहक शहरको रुपमा अघि बढीरहेको छ ।यस्तो अवस्थामा व्यापार र व्यवसायको क्षेत्रमा पाइला टेक्ने युवा जमातको संख्या ह्वात्तै बढेको छ ।अनि यी नयाँ पुस्ताको व्यापार व्यवसाय गर्ने सोच र प्रक्रिया पनि पहिलाको भन्दा पृथक भइसकेको छ ।तसर्थ यस चुनाव मार्फत बौद्धिक र युवा शक्तिको स्रोतले भरिएको विर्तामोड वाणिज्य संघमा पुरातन,परम्परागत र जडसुत्रवादी शक्तिको विरुद्ध मैदानमा संखघोष गर्दै नयाँ उर्जा र सकारात्मक सोचका धनी केही नयाँ अनुहारका युवा व्यवसायीले उम्मेद्धारी दिनुले अबको विर्तामोडको वाणिज्य क्षेत्रले नयाँ चरणमा प्रवेश गरेको चर्चा चुलिन थालेको छ ।जसको मुख्य पात्र तथा दृष्टान्त महासचिव पदका प्रत्यासी उम्मेद्धार अर्जुनकुमार मैनाली दिएका छन् ।उनले समर्पित नेतृत्व,सकारात्मक सोच,व्यवसाय वृद्धिमा नयाँपनको खोज भन्ने नाराका साथ विर्तामोड निवासी उद्योगी व्यवसायी माझ आफ्नो खरो उम्मेद्धारी दिएसँगै नैराश्यता र मतलब बिहिन बन्न लागेको विर्तामोड उद्योग वाणिज्य संघको महत्वलाई ज्युँदो राख्ने काम मात्र नभई यस संगठनमा रक्त संचारको काम गरेका छन् ।

परम्परागत सोच र जड सुत्रावादी धारका व्यक्तिहरुले विरासतको रुपमा प्रयोग गर्दै आएको यस संघको छविमा केही उज्यालो रेखाले प्रवेश गर्न थालेकोे भान विर्तामोडका व्यवसायीहरुमा पर्न थालेको बहस हुन थालेको छ । हिजोका संघका नेतृत्वले विर्तामोडका व्यवसायीका माझ गरेका वाचा र प्रतिबद्धता केबल आश्वासनमा सिमित रहेको जग जाहेर छ ।विर्तामोड शहरका केही सामान्य तर दिर्घकालिन महत्व राख्ने कार्यहरु सार्वजनिक शौचालय,व्यवस्थित र सुरक्षित पार्किङ्ग,फुटपाथमा व्यवसाय गर्ने व्यवसायीको समस्या,खुद्रा र होलसेल व्यवसायीहरुको समस्या,वाणिज्य संंघले स्थानीय, प्रदेश र संघीय सरकारसँग गर्नुपर्ने समन्वयकारी भुमिका,खुल्ला सिमाकोकारण बर्षेनी भित्रिने भारतीय तथा अन्य मुलुकका व्यक्तिहरुले अनाधिकृत रुपमा गर्ने व्यवसायबाट यहाँका व्यवसायीमा परेको प्रभाव र असर तथा विश्वव्यापी समस्याको रुपमा आएको कोरोना भाइसरबाट व्यापार व्यवसायमा परेको तत्कालिन र दिर्घकालिन असरलाई मलम पट्टी गर्ने योजना र कार्यदिशामा चासो नहुनु जस्ता समस्याहरुको बारेमा कुनै समाधानका प्रयास नगरिनुले विर्तामोडका व्यवसायी आजित छन् ।यस्तो अवस्थामा आएको एक जोशिलो,प्रतिबद्ध र हाक्का हाक्की स्वभावका महासचिव पदका उम्मेदवार अर्जुन मैनालीको एउटा आशाको किरणको रुपमा देखिएका छन् ।

विगतका संघका नेतृत्वले धमिल्याएको संघको छवि अब सुध्रिने कुरामा आशावादी हुने प्रशस्त ठाउँ देखिएको छ ।वाणिज्य संघ भनेको हाम्रो पेवा हो र यो हामी विरासत कै भरमा कायम राख्न सक्छौँ भन्ने भ्रममा बसिरहेको परम्पराबादी पक्षलाई मैनालीको उम्मेदवारीले ठुलो झड्का दिएको व्याख्या भइरहेको छ ।जोरसिमलमा अनाधिकृत रुपमा ल्याएको पोको छुटाउने र व्यवसायीको नयाँ व्यवसायको रिबन काट्ने भन्दा अर्को काम नगरेको भन्ने आरोप लागेका विगतका समितिहरुलाई अब भने नयाँ सोच र विकल्प दिनु पर्ने बाध्यता बढेको केही व्यवसायीको भनाई छ ।

विर्तामोड नगरीले वाणिज्य संघको चुनाव मार्फत नयाँ र उर्जावान सोच र क्षमता भएको मैनालीको प्यानल सहित नयाँ अनुहारको नेतृत्वलाई विजय गराएर विर्तामोडलाई स्मार्ट शहर, व्यवस्थित र नीतिगत रुपमा दरिलो शहरको रुपमा विकास गर्न सक्ने विकल्प प्रस्तुत भएको छ । एकातिर झापाको अर्को विकासोन्मख शहर सुरुङ्गाले कयौँ वर्षदेखी बन्द निषेधित क्षेत्र घोषणा गरी व्यवसायको संरक्षण र संवद्र्धन गरेको छ भने विर्तामोडले त्यही काम पनि गर्न सकेको छैन ।

अबको नेतृत्वले यस सम्बन्धमा आफ्नो घोषणापत्र मार्फत विषय उठान गरेर सही कामको शुरुवात गर्ने भएको छ ।विर्तामोड शहरलाई बन्द निषेधित शहर मात्र हैन यहाँको ट्रेडिङ समस्यालाई निराकरण गर्ने तर्फ पनि मैनालीको सोच अघि बढेको देख्दा साँच्चै विर्तामोडले नयाँ स्वरुप पाउनेमा विश्वस्त रहन सकिने ठाउँ छ ।

नयाँ पुस्तालाई व्यापार व्यवसायमा आकर्षित गर्न थोरै पुँजीमा राम्रो व्यवसाय शुरु गर्न सक्ने प्रकृतिका योजनाहरु मैनालीले प्रस्तुत गर्नु पनि परम्परावादी पक्षलाई सोच्न बाध्य बनाउने विषय बनेको छ । तसर्थ वर्षौँ देखि पिल्सिएर र तर्सिएर बसेको विर्तामोडका व्यवसाय र व्यवसायीका लागि नयाँ पुस्ता युवा व्यवसायीको यस उम्मेदवारीले नयाँ उर्जा थपेको छ ।र यो अवसर विर्तामोड निवासी व्यवसायीहरुले गुमाउने पक्के छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here