अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन आज हुँदैछ। यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ।
कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले यो चुनाव झन महत्वपूर्ण भएको विश्लेषकको भनाइ छ।
आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने राष्ट्रपतिको यो निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई केवल वर्षको समयावधिसँग मात्र तुलना गरिँदैन। सन् १९१८ मा देखा परेको स्पेनिस फ्लुपश्चात् एक सय वर्षमा आइलागेको कोरोना भाइरस र यसले पारेको गम्भीर असरलाई दीर्घकालीनरुपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयसमेत यसै निर्वाचनसँग आएर जोडिएको छ।
विगतका चुनावमा अनुदारवादी ठानिएको रिपब्लिकन र उदारवादी ठानिएको डेमोक्र्याट पार्टीबीच आप्रवासन, बन्दुक नियन्त्रण, बेरोजगारी, स्वास्थ्य बीमा जस्ता मुद्दामा पेचिलो बहस हुने गरेको थियो भने यसपटकको चुनावमा कोरोना भाइरस नै केन्द्रबिन्दुमा रह्यो। हुन पनि निर्वाचनको संघारमा आइपुग्दा आठ महिनाको बीचमा दुई लाख ३० हजार अमेरिकीले कोरोना भाइरसका कारणले जीवन गुमाएका छन् भने ९० लाखलाई यो सङ्क्रमणले गाँजेको छ। त्यतिमात्र होइन, सप्ताहन्तमा मनोरञ्जनमा धक फुकाएर खर्च गर्ने अमेरिकीहरुको बानीले विश्व अर्थतन्त्रलाई चलायमान बनाउँदै आएकामा अहिले यो चक्र झण्डै रोकिएको अवस्थामा आइपुगेको छ। त्यसैले यो निर्वाचनका अहिलेका एजेण्डामध्ये कोरोना र यस महामारीले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा पारेको प्रभाव नै केन्द्रबिन्दुमा छ।
आलोचकले कोरोना भाइरस नियन्त्रण र तत्काल आवश्यक कदम चाल्न ट्रम्प प्रशासन सक्षम नभएको भनेर टिप्पणी गरिरहेका छन् भने ह्वाइट हाउसले सम्पूर्ण संयन्त्र परिचालन गरिएको भनेर बचाऊ गर्दै आएको छ। कूल ३२ करोड नागरिक रहेको अमेरिकामा वालिग मताधिकारको सङ्ख्या २४ करोड रहेको छ। अमेरिकामा मतदान गर्न १८ वर्ष पूरा भएको हुनुपर्छ। हुलाकमार्फत् मतदान गर्न पाउने व्यवस्था र निर्वाचनको मितिभन्दा एक साता अगाडिबाट शुरु हुने पहिल्यै मतदान गर्न पाउने व्यवस्था (अर्लि भोटिङ्ग) मार्फत करिब नौ करोड ३० लाख नागरिकले मतदान गरिसकेको तथ्याङ्क सार्वजनिक भएको छ। यसपटक अमेरिकामा करिब १५ करोड मतदाताले मतदान गर्ने अनुमान गरिएको छ। यो कूल मतदाता सङ्ख्याको ६२ प्रतिशत हो।
आज हुने निर्वाचनमा रिपब्लिकन र डेमोक्र्याट पार्टीको क्रम वर्चस्व रहेको सिनेट र काँग्रेसको कोर्स पनि परिवर्तन हुने अपेक्षा गरिएको छ। एक सय सिटको सिनेटमा अहिले रिपब्लिकनको ५३ सिट र डेमोक्र्याटको ४७ सिट रहेको छ। उता तल्लो सदन भनेर चिनिने काँग्रेसमा भने ४३५ सिटमा डेमोक्र्याटको २३२ सिट सहित वर्चस्व रहेको छ। यसपटक सिनेटको ३३ सिट र काँग्रेसको ४३५ सिटको निर्वाचन हुँदैछ। सिनेटरको कार्यकाल ६ वर्षको हुने भएकाले हरेक दुई वर्षमा एक तिहाइको चुनाव हुने गर्दछ भने काँग्रेसको भने हरेक दुई वर्षमा निर्वाचन हुने व्यवस्था रहेको छ।





